काठमाडौं । काठमाडौं खाल्डोमा दिनहुँ भिडभाड बढ्दो छ। उपत्यका मात्र होइन आसपासका डाँडाकाँडा पनि घरै घरले ढाकिइसके। घडेरी प्लटिङ नभएको ठाउँ फेला पर्न मुस्किल भइसकेको छ।
तर, बस्ती विस्तार भए अनुरुप सबै ठाउँमा पूर्वाधार पुगेका छैनन्। कतै बाटो सरल र फराकिलो छैन त कहिँ बिजुली, पानीको नै भरपर्दो उपलब्धता छैन। वस्तीको चाप अनुसारको सडक नहुँदा काममा आउजाउ गर्दा घण्टौँ ट्राफिक जाम झेल्नुपर्छ।
उपत्यकामा चक्रपथ भित्र घर किन्न होस् या कोठा भाडामा लिन, दुबै काम कठिन भइसकेको छ। महङ्गी पनि उस्तै। खानेपानीको उपलब्धता पनि भित्री शहरी इलाकामा त्यति सहज छैन।
त्यसैले हामीले रिङरोड बाहिरका यस्ता १० स्थान टिपोट गरेका छौँ जहाँ तुलनात्मक रुपमा बसोबास सजिलो छ। बाटो, पानी, बिजुली मात्र होइन शिक्षा र स्वास्थ्य सेवाको पनि सहज उपलब्धता छ।
यी स्थान जहाँ तपाइँ स्थायी या अस्थायी जुन तवरले बसे पनि अन्यत्र भन्दा खुला ढंगले सास फेर्न सक्नुहुनेछ।
१) कीर्तिपुर नगरपालिका
नेवार समुदायको बाक्लो बस्ती भएको कीर्तिपुर नगरपालिकामा नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय अवस्थित छ। त्यसैले यो क्षेत्र विद्यार्थीहरुको पहिलो रोजाईमा पर्छ।
पछिल्लो समय कामकाजीहरुले पनि स्थायी/अस्थायी दुबै बसोबासका लागि कीर्तिपुर रोज्न थालेका छन्। त्यहाँ खानेपानी र यातायातको राम्रो ब्यवस्था छ। खानेपानीको लागि विभिन्न ठाउँमा सार्वजनिक धारा समेत छन्। मच्छेगाउँ र दुधपोखरीमा रहेका मुहानबाट कीर्तिपुरका धेरै जसो घरमा दैनिक आधा घण्टा भन्दा बढी पानी आउँछ।
रत्नपार्कबाट १० किलोमिटरको दुरिमा पर्ने कीर्तिपुरमा तीन वटा अस्पताल, विश्वविद्यालय बाहेक १० वटा भन्दा बढी उच्च माध्यमिक बिद्यालय र तीन वटा स्नातक तह सम्मका कलेज छन्। खेतीपातीका लागि पर्याप्त खुल्ला ठाउँ रहेको कीर्तिपुरमा ६ मिटर देखि २२ मिटर सम्मका भित्री सडक रहेको नगरपालिका प्रशासनले जानकारी दियो।
कीर्तिपुर देखि पुरानो बसपार्कसम्म २२ मिटर फराकिलो सडक रहेको छ। कीर्तिपुर यातायात सेवा अन्तर्गतका माइक्रोबस हरेक ५/१० मिनेटको फरकमा रत्नपार्क ओहोरदोहोर गरिरहन्छन्। बिहान ५ देखि साँझ ८/८:३० सार्वजनिक यातायात पाइन्छ। रत्नपार्क मात्र होइन कीर्तिपुर बाट लगनखेल र कलङ्कीको लागि पनि लोकल गाडी चल्छन्।
२) सूर्यविनायक नगरपालिका
रत्नपार्कबाट भक्तपुर सूर्यविनायक जोड्ने अरनिको राजमार्गलाई जापान सरकारले ५० मिटर फराकिलो बनाई दिएपछि यहाँ आवतजावत गर्न ट्राफिक जामको समस्या लगभग अन्त्य भएको छ।
नगरपालिका भित्र पनि अधिकांश सडक फराकिला छन्। फराकिलो सडककै कारण रत्नपार्कबाट १७ किलोमिटर टाढा भए पनि यो ठाउँ छिटै पुगिन्छ। 'काठमाडौंका अन्य ठाउँबाट १० किलोमिटरको दुरी पार गर्न लाग्ने समय भन्दा चाँडो रत्नपार्कबाट १७ किलोमिटर टाढाको सूर्यविनायक आइपुगिन्छ' नगरपालिकाका कार्यकारी प्रमुख यमलाल अधिकारीले भने।
नगरपालिकाभित्र पर्याप्त पानीका मुहान नभएको कारण खानेपानीको केहि समस्या रहे पनि खाली ठाउँ र खुल्ला बाटोको तुलनामा भने अरु नगरपालिका भन्दा सूर्यविनायक अघि रहेको उनको भनाइ छ। नयाँ सडक पनि फराकिलो बनाईरहेको उनले जानकारी दिए। 'अहिले काँक्राबारी देखि पलाँसेसम्मको ४ किलोमिटर बाटो ८ मिटर फराकिलो पार्ने काम धमाधम भइ रहेको छ' उनले भने।
सैनिक आवासिय महाविद्यालय रहेको सल्लाघारी यहि नगरपालिकामा पर्छ। यसबाहेक अन्य प्राविधिक तथा गैरप्राविधिक शिक्षालयको पर्याप्त रहेको अधिकारीले बताए।सूर्यविनायक बाट नयाँ बसपार्क, साँखु, पुरानो बसपार्क, कलंकी, लगनखेल, लगायत राजधानीका अधिकाँश ठाउँका लागि ठूला बस चल्ने गरेका छन्। नगरकोट, बनेपा, धुलिखेल लगायत राजधानी नजिकका प्रमुख गन्तव्यमा पनि सूर्यविनायकबाट यातायातको सुविधा रहेको छ।
३ चन्द्रागिरी नगरपालिका (थानकोट क्षेत्र)
चन्द्रागिरी डाँडामा हिउँ परेपछि यो वर्ष धेरैको ध्यान तानियो। थानकोटबाट केबलकार सञ्चालनमा आएसँगै पर्यटकिय गन्तव्य बनेको बनेको चन्द्रागिरी डाँडो यो नगरपालिकाको सबैभन्दा मुख्य आकर्षण हो।
नगरका बिभिन्न ठाउँ रत्नपार्कबाट १५ देखि २० किलोमिटरको दुरीमा पर्छन्। सशस्त्र प्रहरीको अस्पताल र एकेडेमी रहेको यो क्षेत्रमा निजी अस्पताल पनि थुप्रै छन्। कलंकीबाट ५ किलोमिटरभित्र पर्ने मातातिर्थ, बलम्बु, नैकाप लगायतका यी ठाउँमा यातायात र खानेपानीको पर्याप्त सुविधा रहेको नगरपालिकाका सूचना अधिकारी दीपक उपाध्यायले बताए।
उपत्यका बाहिरबाट राजधानी छिर्ने मुख्य प्रवेशद्वार भएको कारण सडक र यातायातको कुनै समस्या छैन। थानकोटबाट लगभग उपत्यकाका सबै ठाउँ जाने यातायातका साधन पाईन्छ। २२ मिटर फराकिलो सडकले थानकोट रत्नपार्क जोडेको छ। मातातिर्थदेखि चावहिल हुँदै कपनसम्म सिधा बस सेवा छ। थानकोट देखि बानेश्वर, कोटेश्वर हुँदै टिकाथलीसम्म पनि बस सेवा उपलब्ध छ। कलंकी हुँदै भक्तपुर सूर्यविनायकसम्मको पनि गाडी पाइन्छ।
४) बुढानिलकण्ठ नगरपालिका
रत्नपार्क बाट १० किलोमिटर दूरीमा रहेको बुढानिलकण्ठ नगरपालिकासम्म २२ मिटर फराकिलो सडक छ। साझा यातायातले लगनखेल देखि बुढानिलकण्ठसम्म सिधा बस सेवा दिन थालेको छ। भृकुटीमण्डप र नेपाल वायु सेवा निगमबाट पनि बुढानिलकण्ठ जाने माईक्रोबस बिहान ५ देखि राती ७ बजेसम्म पाईन्छ।
बुढानिलकण्ठबाट चक्रपथ हुँदै नयाँ बसपार्क-कलंकी जाने बस पनि पाइन्छ। अर्को रुट चक्रपथ हुँदै कोटेश्वरसम्म पुग्ने छ। पर्याप्त खुल्ला ठाउँ र पानीका मुहान भएको बुढानिलकण्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासले पनि चर्चामा रहेको स्थान हो।
चर्चित बुढानिलकण्ठ हाईस्कुल सहित चारवटा स्नातक सम्म पढाइ हुने कलेज छन् यहाँ। बाँसबारी न्यूरो अस्पताल बुढानिलकण्ठ नगरपालिका भित्र छ भने गंगालाल ह्रदयरोग केन्द्र पनि नजिकै पर्छ।
५) शंखरापुर र गोकर्णेश्वर नगरपालिका (साँखु/सुन्दरीजल क्षेत्र)
चावहिल बाट भित्र बौद्ध-जोरपाटी हुँदै साँखु जोड्ने २२ मिटर फराकिलो सडक छ। शंखरापुर र गोकर्णेश्वर नगरपालिकामा पर्याप्त खेतियोग्य जमिन समेत छ।
चावहिल र जोरपाटी बाट यी क्षेत्रमा ठूला बस नियमित चल्छन्। खानेपानीको पर्यप्त स्रोत भए पनि व्यवस्थित गर्न नसक्दा खेर गईरहेको शंखरापुर नगरपालिकाका लेखापाल कपिल पौडेलले बताए।
सुष्मा कोईराला मेमोरियल अस्पताल साँखुमै पर्छ। रत्नपार्कबाट साँखुको दूरी झन्डै २२ किलोमिटर भए पनि पछिल्लो समय बिस्तारिँदो सडकका कारण यातायात सहज हुन थालेको स्थानियबासी बताउँछन्।
मेलम्ची जाने सबैभन्दा छोटो बाटो शाँखु-नाङ्लेभारे सडकखण्डले पनि यी ठाउँलाई जोडेको छ। जोरपाटी देखि सुन्दरीजलसम्मको सडक पनि २२ मिटर फराकिलो बनाइँदैछ।
सडक बिस्तार पूरा भएपछि यी ठाउँमा सडक यातायातको समस्या नहुने गोकर्णेश्वर नगरपालिकाका शाखा प्रमुख भूपेन्द्र बोहराले बताए। नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल रहेको यो स्थानमा स्नातक तह सम्मका अरु कलेज पनि छन्। गोकर्णेश्वर बाट बालाजु, नयाँबसपार्क, पुरानो बसपार्क र कोटेश्वरसम्मको यातायात पाइन्छ।
६) तारकेश्वर नगरपालिका (मनमैजु क्षेत्र)
नयाँबसपार्क माछापोखरीबाट बाहिरिने बाटो २२ मिटर चौडा बनि सकेको छ। नुवाकोट जोड्ने यो पासाङ ल्हामु राजमार्ग नगर भित्रका अधिकांश सडक १० मिटरसम्म फराकिला रहेको नगरपालिकाका शहरी पूर्वाधार प्रमुख सविन महर्जनले बताए।
मनमैजु, नेपालटार लगायतका ठाउँमा खानेपानीको सुविधा पनि पर्याप्त रहेको उनको भनाइ छ। शिवपुरीको राष्ट्रिय निकुञ्जका मुहान एवं काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गाडेका तीन वटा बोरिङको कारण यो क्षेत्रमा पानीको समस्या हटेको हो।
नगरपालिकाभित्र पनि खानेपानीका मुहान रहेका छन्। नगरले तयार पारेको योजना कार्यान्वनयमा गए भित्री सडकसम्म बस सेवा हुने महर्जनको भनाइ छ। रत्नपार्कबाट चिसापानी, मनमैजु, फुदुङ एवं बालाजु-बाईपास हुँदै साङ्लासम्म जाने बस सेवा नगरबासीले उपयोग गर्न सक्छन्। नगर क्षेत्रमा ठूला स्वास्थ्य संस्था नभए पनि स्नातकसम्म पढाई हुने दुईवटा कलेज छन्।
७) नागार्जुन नगरपालिका (सितापाईला क्षेत्र)
सितापाईला चोकबाट चक्रपथ बाहिर लाग्ने २२ मिटरको मुल सडकसँगै नागार्जुन नगरपालिका जोडिन्छ। सितापाईला देखि भिमढुङ्गा हुँदै धादिङसम्म चल्ने यातायात सेवा यो ठाउँमा उपलब्ध छ।
त्यसका अलावा रानीवन हुँदै रत्नपार्क जाने माइक्रोबस पनि सितापाइलाबाट चल्छन्। नगरपालिकामा ६ मिटर देखि २२ मिटरसम्म फराकिला सडक बनिसकेका छन्। जंगल क्षेत्र र खुल्ला ठाउँ पनि पर्याप्त रहेको सितापाईला क्षेत्रमा मनमोहन मेमोरिएल (वीर अस्पतालले खरिद गर्ने तय भएको) अस्पताल र शहिद मेमोरिएल अस्पताल लगायत स्वास्थ्य संस्था रहेका छन्।
नागार्जुन बन क्षेत्रमा रहेका पानीका मुहानले नगरमा आंशिक रुपले खानेपानीको आपूर्ति भएको छ। केहि ठाउँमा बोरिङ गरेर समेत पानी निकालिएको स्थानियबासी बताउँछन्।
८) गोदावरी र महालक्ष्मी नगरपालिका
ललितपुरको गोदावरी पर्यटकीय तथा धार्मिक महत्वको स्थान हो। सातदोबाटोबाट हरिसिद्धि, बाडेगाउँ हुँदै गोदावरी कुण्डसम्मको बाटो २२ मिटर फराकिलो बनाउने प्रकृया सुरु भइसकेको छ।
कतिपय स्थानमा बाटो निर्माण नै पूरा भएको काठमाडौं उपत्यका विकास प्राधिकरणका अधिकृत केशव न्यौपानेले बताए। रत्नपार्क देखि २० किलोमिटर टाढा भए पनि नियमित चल्ने यातायातका साधन र फराकिलो बाटोका कारण गोदावरी पुग्न कठिन छैन। गोदावरी क्षेत्रमा पानीका मुहान प्रशस्त रहेका कारण खानेपानीको समस्या नरहेको नगरपालिकाले जनाएको छ।
सातदोबाटो मात्र होइन ईमाडोलबाट छिर्ने बाटो पनि २२ मिटर फराकिलो बनाउने सूचिमा छ। रत्नपार्क बाट ईमाडोल, लुभू हुँदै लामाटार सम्मको १५ किलोमिटर बाटो २२ मिटर फराकिलो बनेपछि यस क्षेत्रको सवारी व्यवस्थापन अझ सहज हुनेछ। महालक्ष्मी नगरपालिका भित्र पर्ने यो सडक बनेपछि ट्राफिक समस्या लगभग अन्त्य हुने स्थानियको विश्वास छ।
९) बज्रबराही नगरपालिका (चापागाउँ, लेले क्षेत्र)
रत्नपार्क देखि १४ किलोमिटरको दुरीमा रहेको बज्रबाराही नगरपालिकामा सुनाकोठी, ठेचो, लेले लगायतका ठाउँ पर्छन्। सातदोबाटोबाट लेले, तिलेश्वर हुँदै सरस्वतीकुण्डसम्म नै २२ मिटर फराकिलो बाटो प्रस्ताव गरिएको छ।
यो क्षेत्रमा खानेपानीको पर्याप्त स्रोत रहेका छन्। फराकिला सडकका कारण काठमाडौंसँग पनि सिधा सम्पर्क रहेको बज्रबाराही नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकराज पन्थीले बताए।
२५ देखि १५० शैय्यासम्मका ४ वटा अस्पताल, स्नातकसम्म सबै संकायको पढाई हुने ४ वटा कलेज यो नगरपालिका रहेका छन्। तामाङ र नेवार संस्कृतिको मिश्रण रहेको नगरमा पर्याप्त खुल्ला ठाउँ र प्रदुषणरहित वातावरण मुख्य आकर्षण रहेको उनको भनाइ छ।
१०) कार्यविनायक नगरपालिका (भैसेपाटी क्षेत्र)
रत्नपार्क बाट भैंसेपाटी ८ किलोमिटर मात्रै टाढा छ। जावलाखेल, एकान्तकुना चक्रपथ हुँदै भैंसेपाटी सम्म २२ मिटर फराकिलो बाटो प्रस्तावित छ। कतै बनिसकेको छ भने कतै बन्ने क्रममा रहेको छ।
स्थानीय स्तरमै खानेपानीका मुहान पनि छन्। यो क्षेत्रमा ठूला अस्पताल नभए पनि स्नातकसम्म पढाई हुने कलेज रहेको नगरपालिकाकी कार्यकारी प्रमुख लक्ष्मी पाण्डेले बताईन्।
खुल्ला ठाउँ प्रशस्तै भएको यो क्षेत्रमा खेती गर्न पनि सजिलो छ। केहि बर्ष अघि देखिनै बस्ती विस्तार भएको कारण भैंसेपाटी यातायातका दृष्टिले पनि उपत्यकाको सुगम गन्तव्यमा पर्छ।
बिजमाण्डुबाट साभार गरिएको
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment