'छिमेकी बिदाबारी भइसकेको थियो, पुनर्वास प्रक्रिया त स्थगित भएछ' गौरव पोखरेल अमेरिका जाने अन्तिम तयारीका क्रममा घर फर्किन बाध्य भएका भुटानी शरणार्थीको एक परिवार २० माघ, झापा । झापाको बेलडाँगी-१, सेक्टर ‘सी’ की कलिमाया मगरको परिवारले भएको जायजेथा पृथ्वीनगरका आफन्तलाई सुम्पिसके र र पोकापन्तेरी कसिसके । छिमेकीसँग विदाबारी भइसक्यो । परिवारसहित अमेरिका उड्ने अन्तिम तयारीमा जुटेकी कलिमाया मगरको परिवार सोमबार अन्तिम स्वास्थ्य जाँचका लागि सिएमसी कार्यालयमा पुग्यो । त्यहाँ जाँदै गर्दा पनि उनीहरुको मन फुरुङ्ग थियो । किनकी अब छोराबुहारी, छोरी ज्वाइँ रहेका ठाउँमा पुनर्वास हुँदै थिए ।

अब फेरि उनीहरुको सबै सपना टुटेको छ । ‘आईओएमको गाडी तल राखेको हुन्छ । त्यहीँ प्रि-मेडिकल गर्नुपर्छ । फोटो खिच्नुपर्छ’, ४१ वर्षीया भुटानी शरणार्थी कलिमायाले अनलाइनखबरसँग भनिन्, ‘तर, हाम्रो प्रि-मेडिकल गरिएन । काउन्सिलिङ कोठामा लगेर राखियो । अनि पो थाहा भयो पुनर्वास प्रक्रिया त स्थगित भएको रहेछ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको एक आदेशका कारण पुनर्वास प्रक्रिया स्थागित भएको उनले बल्ल चाल पाइन् । ‘करिब ३ महिना सम्मका लागि स्थागित भएको छ भनेर उहाँहरुले भन्नुभयो’, मगरले सुनाइन्, ‘पुनर्वास प्रक्रिया सुरु हुने वित्तिकै हामीलाई नै पहिले लाने कुरा छ ।’ यतिमै मन कहाँ मान्थ्यो र ! त्यहाँ त जसोतसो उनी थाम्मिइन् । तर, एक साताअघि देखि विदा मागेका छिमेकीहरुलाई देख्दा भने उनको मन कुँडियो । ‘यसरी फर्किनु पर्ला भनेर सोचेकै थिएनौं नि !’, उनले सुनाइन्, ‘छोरा-बुहारी, छोरी-ज्वाईँ सबै अमेरिकामा छन् । हामी चाहिँ यतै पर्यौं ।’ करिब एक घण्टाको कुराकानीमा उनी थप खुल्दै गइन् । ‘धन्न लुगा चाहिँ बेचेका थिएनौं’, उनले भनिन्, ‘आफन्तलाई दिएकाले सहज भयो । नत्र त घरमा लुगाफाटा पनि केही रहने थिएन ।’ तर, कालिमाया र उनको परिवारको अमेरिका पुनर्वास खुल्ने र छोराछोरीसँग भेट हुनेमा आश अझै मरेको छैन । उनको स्वागतका लागि अमेरिकाको भरमाउण्ट राज्यमा आफन्त कुरेर बसेका थिए । यति मात्र होइन, मगर परिवारको विदाई गर्नका लागि भुटानबाट मगरकी बहिनी युडिया पनि आएकी थिइन् । ‘१९ तारिखमै आएको थिएँ’, युडियाले सुनाइन्, ‘जाने वेलामा दिदीको मुख हेर्नलाई आएको थिएँ । पछि भेट कहिले हो कहिले भनेर… !’ कलिमाया मात्र होइन, उनकै गाउँका अन्य ४ परिवार पनि क्याम्प म्यानेजमेन्ट कमिटी (सीएमसी) को कार्यालयमा पुगेर त्यस दिन फर्किएका थिए । भीममाया सुब्बाले पनि त्यस मध्ये एक थिइन् । अन्तिम चरणमा पुगेर फर्किनु पर्दा उनी निराश देखिन्थिन् । शरणार्थी व्यवस्थापन समितिको सह-सचिव रहेका टिकाराम रसाइलीले ट्रम्पको आदेशसँगै पुनर्वास प्रक्रिया स्थगित भएपछि यहाँका शरणार्थीहरुमा मानसिक तनाव बढेको सुनाए । ‘कतिपयले तेस्रो मुलुक जानका लागि भनेर ऋणै गरेर सपिङ गरेका थिए’, उनले अनलाइखबरसँग भने, ‘तर, अहिले पुनः घर फर्किनु परेको पर्दा उनीहरु निक्कै तनावमा छन् ।’ पुनर्वासपछि खाली बन्दै गएको बेलडाँगीको शरणार्थी शिविरका छाप्रा सन् ९० को दशकमा भुटानबाट लखेटिएर भारतीय भूमि हुँदै नेपालको पूर्वी क्षेत्रमा करिब १ लाख २२ हजार भुटानी शरणार्थी शरण लिएर बसेका थिए । सुरुवाती दिनमा कनकाई नदीको तटमा बसेका उनीहरुलाई पछि झापा र मोरङका विभिन्न ७ स्थानमा सारियो । झापाको गोलधाब, टिमाई, खुदुनाबारी, बेलडाँगी-१, २, ३ र मोरङको पथरी, शनिश्चरेमा उनीहरुलाई राखिएको थियो । सन् २००७ बाट भुटानी शरणार्थीको पुनर्वास प्रक्रिया सुरु गरियो । त्यसयता अहिलेसम्म १ लाख ७ हजार भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास भइसकेको संयुक्त राष्ट्र संघ शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) ले जनाएको छ । उनीहरु पुनर्वासका क्रममा क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्यान्डमा छन् । यूएनएचसीआरका अनुसार क्यानाडामा ६ हजार ७ सय ६५ जना, अस्ट्रेलियामा ६ हजार १ सय ४८ जना, न्युजिल्यान्डमा १ हजार ६७ जना, डेनमार्क ८ सय ७५ जना, नर्वेमा ५ सय ७० जना, बेलायतमा ३ सय ५८ र नेदरल्यान्डमा ३ सय २९ जना छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment