Friday, January 27, 2017

'मास्टर्स डिग्री होल्डर' हजाम

उनको सैलुन त्यत्रो भव्य छैन। एउटा सटरभित्र भित्तामा अगाडि–पछाडि ऐना टाँसिएको छ, तीन–चारओटा कुर्सी छन्। सटरभित्रै एउटा पुरानो सोफा छ। केही गम्छा, कैंची र हेयर ड्रेसिङका थोरै सामान छन्। समग्रमा भन्नु पर्दा राजधानीका औषत सैलुनभन्दा भिन्न छैन त्यो सैलुन।

सटरमाथिको पातामा लेखिएको छ—हाम्रो सैलुन। अरू कुनै बोर्ड, तस्वीर र प्रचार सामग्री छैनन्। त्यही सैलुन जहाँ एक युवा निकै व्यस्त देखिन्छन्। कपाल—दाह्री काट्ने र रङ्ग्याउने काममा भ्याइनभ्याइ हुन्छ। उनको मेहनत र सामान्यपनले जोकसैलाई लोभ्याउन सक्छ। उनी अर्थात्, सिकन्दरकुमार ठाकुर।

कपाल काट्ने पुख्र्यौली पेसा हो उनको। बाबुबाजेले गर्र्दै आएको काम भएरै होला, कपाल काटेको हेर्दाहेर्दै र पसलमा सघाउँदासघाउँदै उनले सैलुनको काम सिके। कपाल काट्ने काम कहिलेबाट सिके, त्यो कुरा ठ्याक्कै उनलाई पनि थाहा छैन।



‘सुरूमा कुनै औपचारिक तालिम लिएर कपाल काट्ने पेसामा लागेको भए पो यही बेलादेखि काम सिकेँ भन्नु! अनि तिथिमिति पनि याद हुनु। खेल्दाखेल्दै, हेर्दाहेर्दै नजानिँदो पाराले जानेपछि काम कहिलेदेखि जानेँ भन्ने याद नहुँदो रहेछ,’ ठाकुर भन्छन्, ‘आठ–दश वर्षकै उमेरमा मैले काम सिकिसकेको थिएँ हुँला।’

जतिबेला उनी तीनचार कक्षामा पढ्थे, त्यतिबेला औषत बच्चाहरू जस्तै उनी पनि फ्याट्टै भनिदिन्थे—म डाक्टर बन्ने, पाइलट बन्ने, इन्जिनियर बन्ने। सोचेर, बुझेर होइन, अरूले भनेको सुनेर उनी कहिले डाक्टर बन्छु भन्थे कहिले पाइलट त कहिले इन्जिनियर।

राजधानीको बोर्डिङ स्कुलबाटै एसएलसी सके। तर, उनी न डाक्टर बन्ने लाइनमा लागे न पाइलट न त इञ्जिनियर। घरको कमजोर आर्थिक अवस्थाका कारण पनि ती विषयमा उनको प्रवेश असम्भव भयो। उनी व्यवस्थापन पढ्न लागे। बाबुबाजेले चलाएको कैंची चलाउँदाचलाउँदै उनको पढाइले मास्टर्स डिग्री पार ग¥यो।

उनीसँगै मास्टर्स डिग्री गरेका साथी अहिले कोही विदेशमा छन्। कोही बैङ्क, फाइनान्सतिर छन् त कोही सरकारी र गैरसरकारी अफिसतिर। तर, उनीचाहिँ सानो सैलुन चलाइरहेका छन्। उनलाई न वैदेशिक रोजगारले आकर्षित गर्न सक्यो न त बैङ्क र फाइनान्सको जागिरले नै। सरकारी जागिरप्रति पनि मोह भएन। प्लस टु सकेपछि एकपल्ट साथीको लहलहैमा जागिरका लागि एउटा बैङ्कमा आवेदन दिएका थिए। तर, भित्री मनदेखि नै जागिर खाने रहर नभएपछि त्यो आवेदनको अर्थ रहेन।

ती साथी अहिले पनि बैङ्कमा जागिर खाइरहेका छन्।  सिकन्दरलाई बैङ्कमा काम गरिरहेका साथीको तलब ठ्याक्कै थाहा छैन। अर्काको तलब के कति छ भनेर सोध्ने कुरा पनि भएन। तैपनि उनको अनुमान छ, बढी भए ३५/४० हजार रूपैयाँ होला।

विदेश गएकाहरूको कमाइ पनि त्यस्तै हो। ३०/४० हजारका लागि विदेश जानेहरू प्रशस्तै छन्। तर, उनी एउटा सामान्य सैलुन चलाएको भरमा मासिक एक लाख रुपैयाँभन्दा बढी रकम कमाइरहेका छन्।

उनको अन्दाजी हिसाब–किताबमा सैलुनमा गरिएको लगानी जम्माजम्मी एक लाख रुपैयाँ होला। महिनाको एक लाख कमाउनु सामान्य कुरा होइन। तर उनी मान्छेका टाउकाबाट पैसा टिपिरहेका छन्।

पढेलेखेको मान्छेले जागिर नै खानुपर्छ भन्ने मानसिकता भएको भए मासिक एक लाख रुपैयाँ उनका लागि ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै हुन्थ्यो। विदेश गएको भए पनि त्यति रकम कमाउन चानचुने दुःख हुँदैनथ्यो।

पढाइले घमण्ड जगाइदिएको उदाहरण प्रशस्तै भेटिन्छन्। कामलाई सानो र ठूलो भनी विभेद गर्ने बनाइदिन्छ। पुख्र्यौली पेशाप्रति लज्जाबोध पैदा गरिदिन्छ। म त ‘को को न हुँ’ भन्ने अहम् भरिदिन्छ। तर, उनमा पढाइले त्यस्तो केही गरेन। न अहम् जगायो न त लज्जाबोध नै गरायो। एसएलसी सकेपछिका केही महिना मनमस्तिष्कमा पढाइको अहम्रूपी भूत सवार भए पनि त्यो धेरै टिकेन। एसएलसी सकेपछिका केही महिना कैंची चलाउन हातले आनाकानी गरे पनि तत्कालका लागि उनीसँग अर्को विकल्प थिएन।

एसएलसी सक्दा उमेर पनि त्यस्तै थियो। साथीले के भन्लान्, कसो भन्लान् भन्ने डर थियो। तर, जब पढाइका माथिल्ला खुड्किला चढ्दै गए, तब उनलाई लाग्दै गयो, आफ्नै कामसँग पनि कोही डराउने हो ?

सानैदेखि कपाल र दाह्रीमा पैसा देखेका थिए उनले। त्यो पेशा जहाँ सानादेखि ठूलासम्मको संगत भेटेका थिए। त्यसैले पनि कपाल काट्ने पेशाभन्दा अर्को पेशा दिमागमा आएन। उनीसँगै पढेका आफ्नै समुदायका कतिपय युवाले कपाल काट्ने कामलाई सानोतिनो काम भन्दै पेशा नै परिवर्तन पनि गरे। तर, उनलाई पढाइको अहमका कारण पेशा परिवर्तन उपयुक्त लागेन। कमाइ नहुने भए पो परिवर्तन गर्नु। कपाल काट्ने पेसाको भविष्य नै नभए पो यसबाट बाहिरिनु। उनलाई लाग्यो, ‘अहिलेको जमानामा नपढ्ने को हुन्छ? म पढेको मान्छे मैले यो पेशा गर्नुहुँदैन भन्ने हो भने भोलिको दिनमा कपाल काट्ने पेशामा चाहिँ को आउँछ?’

उनी भन्छन्, ‘एसएलसी सक्दा कपाल काट्ने पेशाप्रति थोरै लाज लागे पनि उनी जति पढ्दै गए, लज्जाबोध त्यति हराउँदै गयो। मास्टर्स सकेपछि त लज्जाबोध होइन, उनमा गर्वबोध पो भयो।’

आफूसँगै डिग्री गरेका साथीहरू कामको खोजीमा लुखुरलुखुर भौतारिरहँदा उनलाई लाग्यो, ‘सीपको सम्मान गरेर मैले एकदम ठीक गरेछु।’ अहिले उनलाई लाग्छ, ‘मैले पुख्र्यौली पेशाको सम्मान नगरेको भए कि त १०÷२० हजार रुपैयाँको जागिरमा अल्झिएको हुन्थेँ, कि अरूजस्तै कामको खोजीमा भांैतारिरहेको हुन्थेँ।’

काठमाडौंको शङ्करदेव कलेजबाट मास्टर्स डिग्री गरेका सिकन्दरकुमार आफ्नो सानो सैलुनलाई अब ठूलो बनाउने योजनामा छन्। मासिक एक लाख रुपैयाँ बचत केही समययता उनको संकल्प बनेको छ। त्यही संकल्पलाई व्यवहारमा उतार्दै जाँदा उनलाई विश्वास छ, अबको केही महिनापछि उनीसँग केही लाख रुपैयाँ जम्मा हुनेछ। नेपालकै नाम चलेका केही सैलुनमा काम सिकेर उनले आफ्नो सीप निखारिसकेका छन्। र, थप सीप सिक्नका लागि केही समय उनी विदेश जाने योजनामा छन्।

उनको सपना छ, काठमाडौंको कालोपुलमा रहेको सानो सैलुनलाई नेपालकै प्रख्यात सैलुनहरूमध्येको एक बनाउने। एउटा सटरबाट सुरु भएको सैलुनलाई देशविदेशमा चिनाउने। नेपालका प्रख्यात मान्छेहरू आफ्नो सैलुनसम्म आउने माहोल तयार पार्ने। अनि, सिकन्दरकुमार ठाकुरको पहिचान स्थापित गर्ने।

उनी यस्तो सपना बुनिरहेका छन्। तर, उनलाई यो पेशा नै छोडेर अर्को कुनै पेशा गर्नका लागि पारिवारिक दबाब पनि ठूलै छ। सिकन्दरले इज्जतिलो पेशा समाएन भन्ने पारिवारिक गुनासो छ। श्रीमती, इष्टमित्र, साथीसंगती कसैको चित्त बुझेको छैन। उनी भन्छन्, ‘कमाइले मात्रै परिवारलाई पुग्दो रहेनछ। मास्टर्स गरिसकेको छोरो टाईसुटमा अफिस जाओस्, हाइफाइवाला होस् भन्ने परिवारको चाहना हुँदो रहेछ। तर, केही छैन परिवारको त्यो चाहना पूरा गर्छु। परिवारले मेरो सपना नबुझेर मात्रै हो। कपाल काटेकै भरमा मैले गाडी चढ्न सक्छु, सुटटाईमा हिँड्न सक्छु, सानो सटरको सैलुनलाई कर्पोरेट कल्चरमा ढाल्न सक्छु भन्ने विश्वास परिवार र समाजलाई नभएर मात्रै हो।’

सपना पूरा गरेरै देखाउने अठोट छ उनीसँग। जब त्यो सपना पूरा हुन्छ, तब कामलाई हेर्ने सामाजिक दृष्टि स्वतः परिवर्तन हुन्छ। सिकन्दरकुमार त्यही सिकाउन चाहन्छन्।
सिकन्दरकुमारलाई भेट्दा ...

सिकन्दरकुमारलाई भेट्नुअघि म राजधानीका केही सैलुनहरूमा गएँ। ती सैलुनमा जानुको उद्देश्य न त मेरो कपाल काट्नु थियो न त दाह्री काट्नु नै। मेरो एउटै उद्देश्य थियो, कपाल काट्ने मान्छेहरूको औपचारिक अध्ययनका विषयमा बुझ्नु।

मैले ५० भन्दा बढी सैलुन धाएँ हुँला। तर, उच्च शिक्षा हासिल गरेर कपाल काट्ने काम गरिरहेका मुस्किलले भेटेँ। मास्टर सकेको त कोही भेट्न सकिनँ। सैलुनहरूमा जहाँजहाँ सोध्थेँ, प्रायः सबैको प्रतिप्रश्न एउटै हुन्थ्यो, ‘डिग्री सकेर को यस्तो काम गर्छ हजुर? हामीले त पढेको छैन र पो गर्छौं त!’ कपाल काट्ने पेशा भनेको नपढेका मान्छेले गर्ने हो भन्ने बुझाइ त्यही व्यवसायमा लागेका मान्छेहरूमा पनि रहेछ।

ती सैलुनका दाइभाइहरूलाई सोधेँ, ‘तपाईंको घरमा मास्टर्स डिग्री सकेकाहरू कोही छैनन्?

‘डिग्री सकेका छन् तर कपाल काट्ने काम गरेर बसेकाचाहिँ छैनन्।’

अनि फेरि सोधेँ, ‘डिग्री सकेकाहरू सबैले जागिर खाएका छन्?’

‘जागिर पाए पो खानु?’

अनि के गर्दै छन् त?

‘काम नपाएपछि के गर्नु? विदेश जाने चक्करमा छन्।’

पढेलेखेको मान्छे नेपालमा काम गर्न लाज मान्छ। उसलाई पढाइको अहम्ले काम गर्न दिँदैन। तर, विदेशमा गएर ऊ जे काम गर्न पनि राजी हुन्छ।

एकदिन म कालोपुलको ग्रेट नेपाल सटिङसुटिङका सञ्चालक कमल हसन अन्सारीकहाँ पुगेको थिएँ। प्रायः कपडा सिलाउनुपर्दा म उनैकोमा जाने गर्छु। लगभग ७÷८ वर्षयताको दोस्ती छ हाम्रो। गफैगफका सिलसिलामा उनैलाई सोधेँ, ‘मास्टर्स डिग्री सकेर कपाल काट्ने काम गरेको कोही मान्छे देख्नुभएको छ तपाईंले?,’ उनले हाँस्दै भने, ‘डिग्रीवालाबाट कपाल कटाउने इच्छा जाग्यो कि क्या हो?’ उनलाई मैले यथार्थ कुरा भनेँ। उनले सँगै रहेकी स्टाफलाई आफूतिर बोलाउँदै मैले सोधेकै कुरा सोधे। ती स्टाफ फुत्त बाहिर निस्किइन् र एकजना मधेसी मूलका युवालाई बोलाएर ल्याइन्।

‘उहाँले मास्टर्स डिग्री गर्नुभएको छ। यहीँको पेट्रोल पम्पसँगै सैलुन छ उहाँको। बाँकी कुरा आफै गर्नुहोस्।’

कुराकानी भयो। बारा कुचर्वाका युवा रहेछन् उनी। नाम सिकन्दरकुमार ठाकुर। उमेर २८ वर्ष। पढाइ व्यवस्थापन सङ्कायमा स्नातकोत्तर।

मोबाइल नम्बर आदानप्रदान भयो। त्यसको पर्सिपल्ट उनको सैलुन पुगेँ। उनका बुबा र उनी दुईजना बस्दा रहेछन् सैलुनमा। कपाल काट्नेहरू पालो कुरेर बसेका थिए। आफूसँगै पढ्दाका साथीहरू भएर होला तँ–तँ चल्दै थियो कपाल काट्ने र कटाउनेहरूको। झन्डै दुई घन्टाको प्रतीक्षापछि बल्ल फुर्सद मिल्यो उनलाई। नजिकैको एउटा कोठातिर लक्षित गर्दै अघि बढे उनी। म उनका पछिपछि लागेँ। साँघुरो कोठाको खाटमा बस्यौं हामी। सँगै रहेको मोटरसाइकल वर्कसपवालाको कोठा रहेछ त्यो।
करिब डेढ घन्टामा कुराकानी सकियो। मास्टर्स डिग्री गरेको युवा जसले पुख्र्यौली पेसाको सम्मान मात्रै गरेको छैन, त्यही पेसाबाट सुन्दर भविष्यको सपना देखेको छ। ऊसँग सपनाका चाङ छन्, जो पूरा गर्नै नसकिने पनि छैनन्। कामप्रति उसको अठोट, लगनशीलता र इमानदारी साँच्चै लोभलाग्दो छ। कुरा गर्दै जाँदा मलाई यस्तो लाग्यो, यो युवालाई परिवार र समाजको साथ हुने हो भने कति गर्दो हो ?

(माघ २१ गते सार्वजनिक हुने पत्रकार रोहित भण्डारीको पुस्तक ‘नेपालमै सकिन्छ’ बाट। यसअघि ‘सम्भव छ’ पुस्तक सार्वजनिक गरिसकेका भण्डारीको यो पुस्तक जयकाली प्रकाशनले प्रकाशन गरेको हो।)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment