नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरेर देशमा संवैधानिक र राजनैतिक सङ्कट आउन नदिने पक्षमा एमाले रहेको बताए ।
तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन हुन सकेन भने संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को समय सकिने भन्दै उनले संसद् सदस्य नरहेमा प्रधानमन्त्रीको पद रिक्त हुने बताए । पूर्वप्रधानमन्त्री ओलीले भने “प्रधानमन्त्री वा सरकार बनाउन संस्था र प्रक्रिया चालु नभएका बेला काम चलाउ भन्न पनि नमिल्ने गम्भीर समस्या पैदा हुन्छ । त्यसकारण समयभित्रै निर्वाचन हुनुपर्छ, हामीले भनेका छौँ, हाम्रो सबैभन्दा बढी जोड मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट नआओस् भन्ने हो ।”
समयमै निर्वाचन नभए नेपाली जनताले यस कुरालाई स्वीकार्न नसक्ने भन्दै उनले निर्वाचन घोषणा गर्नुपर्छ भनेर आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
जटिलताको वहाना बनाएर निर्वाचन नगर्ने प्रयासहरु भइरहेको भन्दै उनले निर्वाचन नगराउन सम्भव छैन भने ।
अर्काे एक प्रसङ्गमा अध्यक्ष ओलीले संविधान संशोधन अनावश्यक, अनुचित र हानिकारक भएको भन्दै यो प्रस्ताव देशको हितमा नरहेको विचार व्यक्त गरे। रासस
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment