Saturday, January 28, 2017

देवीको सास जोगाउन सहयोगको आश

दिनेश आचार्य
१५ माघ, युएई

सन् २००७ मा रोजगारीका लागि युएई आएका खोटाङ बामराङ ६ झिसेपुलका लोकेन्द्रश्रेष्ठले २०१०मा आफ्नी श्रीमति देवीलामालाई पनि युएई ल्याए । दुबैजना अजेदिया ग्रुपको पल रेष्टुरेन्टमा काम गर्दै आएका थिए । लोकेन्द्र फुड सुपरभाईजर देवी क्यासियर थिइन । छ महिना अघि देवी गर्भवति भएपछि दुवैको जीवनमा थप खुशीयाली थियो ।

पहिलो गर्भ भएकाले दुवै जना संवेदनशील थिए । महिनामा एक पटक स्वास्थ्य परिक्षण गरे हुने भएपनि उनीहरुले महिनामा दुई पटक स्वास्थ्य परिक्षण गराउदै आएका थिए । आहार बिहारमा पनि राम्रै ध्यान दिदै आएका थिए ।


अचानक बज्रपात
जनवरी १६ आइतबारका दिन देवीलाई अचानक अस्वस्थ भएको महसुस भयो । करामामा रहेको बेलहोल क्लिनिकमा लगियो । बिरामीको अरु अवस्था सबै सामान्य थियो तर ज्वरो घटेन । उल्टी पनि भयो ।

बुधबार दिउँसो तिन बजे सम्म बच्चाको अवस्था राम्रो थियो । बुधबार देवीलाई अचानक ढाडमा दुख्यो । उनको हालत चिन्ताजनक देखियो । त्यसपछि थप उपचारका लागि उनलाई अस्तर अस्पताल पुर्याइयो । बिहिबार डाक्टरले बिरामी र बच्चा दुबैको अवस्था चिन्ताजनक रहेको जानकारी दिएपछि लोकेन्द्रले चारैतिर अन्धकार देखे । भगवानसंग खुशी नलुट्न बिन्ती गरे । डाक्टरले आमाका लागि औषधी चलाउदा बच्चाको ज्यान जान सक्ने बताएपछि लोकेन्द्रले मुटुमा गाँठो पारेरै भएपनि औषधी चलाउन अस्पताललाई अनुमति दिए ।

शुक्रबार बिहान ८ बजेर ४० मिनेटमा डाक्टरको टोलीले बच्चा अप्रेसन गरि निकाल्यो । जावेलअली लगेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेको उनले सुनाए ।

देवीलाई समस्यै समस्या 

छ महिना सम्म हरेक पन्ध्र दिनमा चेकजाँच गराउँदा आमा र बच्चाको अवस्था सामान्य रहेको बताईदै आएको थियो । अहिले अस्तर अस्पतालको आइसियुमा रहेकी देवीमा डाक्टरले समस्यै समस्या देखाएका छन् ।

लोकेन्द्रका अनुसार देवीमा मुटु, फोक्सोमा समस्या छ । कलेजो र किड्नीमा पनि थप समस्या आउन सक्ने जोखिम देखाएका छन् । लगातार उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआई रहेको अवस्थामा डाक्टरहरुले रगतमा फंगस (ढुसी)को समस्या रहेको औल्याएका छन् । अस्पतालले नाक र घाँटीका दुई छेउबाट कृत्रिम विधिबाट औषधी तथा शरिरका लागि चाहिने आवश्यक तत्व पठाई रहेको छ । अब फेरी घाँटीको अगाडीबाट प्वाल पारेर सबै त्यहीबाट दिने अस्पतालले तयारी गरेको छ । त्यो भए सास फेर्न सजिलो हुने र दुखाई कम हुने बताएका छन्।



गंगालालमा लैजान चाहन्छु 
विरामीको स्वास्थ्यमा सुधार आउनु भन्दा झन् झन् कमजोर भएको देखेर अत्तालिएका लोकेन्द्रले मिनेट मिनेटमा भगवान पुकारी रहन्छन् । ‘डाक्टरले प्रयास गरि रहेका छन् अव भगवानकै आश छ । तपाईपनि पुकारा गरि दिनुस्’ उनले भने ।

उपचार गराई रहेको अस्पतालबाट डिस्चार्ज पाए नेपालको गंगालाल अस्पतालमा लगेर उपचार गराउने चाहना भएको उनले सुनाए । मलाइ विश्वास छ मुटुको जस्तो सुकै समस्या भएपनि गंगालालमा लगेपछि निको हुन्छ उनले आशा र विश्वास सुनाए ।

खर्चको चिन्ता 
उपचारका क्रममा अहिले सम्म अस्पताल र फार्मेसीको गरी एक लाख दिराम बराबरको बिल बनि सकेको लोकेन्द्रले सुनाए । बिलको दश प्रतिशत बिरामीले र बाँकी विमा कम्पनीले बेहोर्ने भएपनि विमाका शर्तले नसमेटेका सबै खर्च बिरामीलेनै बेहोर्नुपर्छ ।

बिमाले सिमित रकम सम्म मात्र बेहोर्ने भएकाले विमाले समेट्ने भन्दा माथीको खर्च पनि आफैले तिर्नु पर्ने लोकेन्द्रले सुनाए । आठ दश हजार सम्म मैले तिर्न सक्छु तर त्यो भन्दा बढि कसरी तिर्ने भन्ने सोच्न पनि सकेको छैन उनले भने । अहिले खाली सास जोगाउनका लागि भगवानसंग प्रार्थना गरि रहेको छु । बचाउन सकियो भने यहाँ रहेका नेपाली दाजुभाईको सहयोग लिएर भने पनि नेपाल लैजान्छु उनले भने ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment