Saturday, February 4, 2017

भूकम्पले नेपालमै मालामाल, किन जानु जापान ?




रोहित गिरी/कैलाली ।
माघ २२ – ६ महिनाको तयारीपछि पृथ्बी मल्लको जापान जाने टुङ्गो लागि सकेको थियो । २५ हजार रुपैयाँ खर्च गरेर सबै कागजपत्र तयार पारेर प्रक्रिया पूरा पनि भइसकेको थियो । त्यसैले उहाँ जापान जाने तयारी गर्दै हुनुहुन्थ्यो ।

तर उहाँको तयारी वैशाख १२ गतेको भूकम्पले घरहरु भत्किए जस्तै भत्कियो । कागजपत्र कहाँ पुग्यो उहाँलाई केही थाहा छैन । झण्डै ९ हजार जनाको ज्यान लिएको भूकम्पले धेरैको गुजारा गर्ने मेलो पनि मासियो । उहाँको पनि जापान जाने बाटो भूकम्पले नै छेकिदियो । तर अर्को बाटो खोलिदियो ।

डोटीको जोरायलका उहाँ भूकम्पपछि कैलालीको धनगढी झर्नुभयो । अनि धनगढी बसपार्कमा होटल सुरु गर्नुभयो । ७० हजार रुपैयाँ लगानी गरेर । २०५० सालदेखि ६ वर्षसम्म भारको दिल्लीमा होटलमै काम गरेकोले त्यो अनुभवकै आधारमा होटल सुरु गर्नुभयो । दुई वर्ष होटल चलाउनुभयो ।  तर होटल खासै चलेन ।  ‘उधारोले गर्दा कमाउनै सकिएन’ पृथ्बीले भन्नुभयो ।

त्यसैले होटल चलाउँदै जापान जाने तयारी पनि सँगै गर्नुभयो । भाषा सिक्नुभयो । होटलको काम जानेका उहाँ कुकमै जापान जाने तयारीमा हुनुहुन्थ्यो तर भूकम्पले प्रक्रिया बिचमै रोकियो । अनि उहाँले गर्दै गरेको होटल छोडेर ठेलाको व्यापार सुरु गर्नुभयो ।

दुई वर्षअघि ठेलाको व्यापार सुरु गर्दा १ लाख २० हजार रुपैयाँ जति लगानी भयो । सानो पसल जत्रै फलामको ठेला बनाउँदा ५० हजार अनि सामान ७० हजार रुपैयाँ जतिको किनेर ठेलाको व्यापार सुरु गर्नुभयो । लगानी होटल भन्दा झण्डै दोब्बर । तर उहाँलाई लगानी उठाउन बेर लागेन । ठेला पसलको नाम जस्तै ग्राहकको पनि ठूलै जमघट हुन थाल्यो । जमघटले व्यापार पनि बढ्दै गयो अनि आम्दानी पनि त्यसरी नै सप्रियो ।

सडकको व्यापार राम्रै हुने देखेपछि उहाँले मौसम अनुसारका व्यापार गर्न थाल्नुभयो । कहिले कपडा बेच्नुहुन्थ्यो त कहिले अरु नै सामान । व्यापार विस्तार भए जस्तै कमाइ पनि बढ्दै गयो । अहिले त उहाँले महिनाको पचास हजारदेखि ६० हजार रुपैयाँ बचाइरहनुभएको छ । कमाइ राम्रो भएपछि उहाँ जापान जाने निर्णय गर्दाको त्यो क्षण सम्झिनुहुन्छ । ‘जापान गएको भए के हुन्थ्यो थाहा छैन तर यहाँ एकदम राम्रो छ’ पृथ्वी भन्नुहुन्छ ।

भारतमा होटलमा काम गर्दा उहाँले महिनाको १० हजार रुपैयाँ जति कमाउनुहुन्थ्यो । अहिले त त्यसको ५ गुणा बढी बचाइरहनुभएको छ । तर पनि त्यही आफ्नो जिन्दगीको बाटो फेर्ने जग थियो भन्ने उहाँले बिर्सिनुभएको छैन ।



पृथ्वी मल्लको ५ जनाको परिवार । १ छोरी, २ छोरा अनि श्रीमती पनि अहिले उहाँसँगै हुनुहुन्छ । छोरी स्टाफ नर्स पढ्दैछिन् अनि छोराहरु एउटा ८ र अर्को ९ कक्षामा पढ्छन् । उहाँले आफूले पढ्न पाउनुभएन । त्यसैले छोराछोरीलाई राम्रो पढाउने उहाँको इच्छा छ । छोराछोरी पढाइमै व्यस्त त्यसैले पृथ्वीको जोडीलाई बिहान ६ बजेदेखि १० बजेसम्म पसलमै भ्याइ नभ्याइ हुन्छ । ‘६ बजे पसल खोले १० बजेसम्ममा नास्ता तयार बनाइसक्छौं’ पृथ्वीकी श्रीमती जयन्तीले दैनिकी सुनाउनुभयो ‘अनि दिनभरी खाजा नास्ता बनाउँदैमा बित्छ ।’ कामको तालिका सुनेर प्रश्न गरें ‘यति धेरै काम गर्दा थाकिँदै ?’ तर पृथ्वीले रमाइलो गरी जवाफ फर्काउनुभयो ‘थाकेको जस्तै लाग्दैन बरु एक छिन काम भएन भने दिक्क पो लाग्छ ।’

दुई वर्षको कमाइले उहाँलाई हौस्याएको छ । त्यसैले एक पटक चढिसकेको विदेशको सुर अहिले हराएको छ । अहिले त उहाँलाई परिवार भन्दा किन जानु भन्ने लागिरहन्छ । ‘यहीँको कमाइ राम्रो छ अनि परिवारसँगै बस्नु पाउँदाको आनन्द पनि त छुट्टै हुन्छ’ पृथ्वी भन्नुहुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment