अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न ७ मुस्लिम बाहुल्य मुलुकका नागरिकसहित आप्रवासीलाई सो मुलुक प्रवेश र बसोबासमा कडा नीति अख्तियार गरेसँगै त्यसको प्रभाव नेपाली समुदायमा समेत परेको छ । इलेक्ट्रोनिक डाइभर्सिटी भिसामार्फत त्यहाँ बसोबास गर्दै आएका नेपालीहरूसमेत ट्रम्पको कदमप्रति सशंकित हुन थालेका छन् । डीभीमार्फत अमेरिका पुगिसकेकाहरू बारे ट्रम्पको धारणा नआए पनि केही फरक व्यवहार हुन सक्ने नेपालीहरूको आशंका छ । यसअघि पनि ओबामा कार्यकालमा डीभी चिठ्ठा खारेज हुने कुरा चलेको भए पनि त्यहाँको संसद्बाट पारित हुन सकेन ।
‘यहाँ आएर स्थायी बसोबास गरिसकेकालाई तत्कालै समस्या नहोला तर आउने तयारीमा रहेका नेपालीहरूलाई अन्योल हुन सक्छ, आगामी वर्षदेखि डीभी भिसा र अन्य प्रकृतिको भिसा सरल र सहज नहोला।’ नेप्लिज एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाका अध्यक्ष तेज राईले भने ।
नेप्लिज अमेरिकन पपुलेसन इस्टिमेसनले गरेको पछिल्लो अध्ययनअनुसार २०१६ को डिसेम्बर अन्त्यसम्ममा विभिन्न प्रकृतिको भिसामा २ लाख ३१ हजार १ सय ४३ नेपाली अमेरिका पुगेका छन् । पछिल्ला केही वर्षयता हरेक वर्ष १५ हजार ५ सयका हाराहारीमा नेपाली अमेरिका पुग्ने गरेको सो अध्ययनले जनाएको छ ।
अध्ययन टोलीका सदस्य विकासराज न्यौपानेका अनुसार सन् २००५ पछि ग्रिनकार्ड लिने नेपालीहरूको संख्या बढिरहेको छ । आप्रवासीहरू माथिको ट्रम्पको कदमपछि त्यहाँको व्यापार व्यवसायमा असर देखिन थालेपछि त्यसको असर आफूले पाएको रोजगारीमासमेत पर्नसक्ने नेपालीहरूको आशंका क्यालिफोर्नियाका अध्यक्ष राईले बताए ।
त्यस्तो आशंका र चिन्ता अमेरिकामा रहेकाहरूलाई भन्दा बढी नेपालमा रहेका आफन्तलाई पर्न थालेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पदाधिकारीहरू बताउँछन्।
आफ्नो नाम खुलाउन नचाहने अमेरिकाको ड्यालस निवासी एक नेपालीले भने– ‘ठूलो सपना लिएर यहाँ आएका छौं, आफन्तहरूले हाम्रोबारेमा चिन्ता लिनु स्वाभाविक पनि हो, अब अमेरिका आउन चाहनेहरूका लागि अमेरिकी नीति पक्कै पनि सहज नहोला।’ ट्रम्पको पछिल्लो नीतिबारे उनको आफ्नै पार्टी र देशविदेशबाट चर्को विरोध भइरहेको अवस्थामा नेपाली समुदायमाथि तत्काल असर परिहाल्ने अवस्था नरहेको उनको तर्क छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment