काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षा बल (एयरमार्सल) लाई बस्ने स्वीकृती दिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रघात गरेको आरोप लगाएको छ।
मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले पुस ५ गते नेपाल र भारतका पर्यटन तथा नागरिक उड्यन अधिकारीबीच हवाई ट्राफिक तथा नयाँ रुटबारेको दुई दिने बैठकले विमानस्थलमा एयरमार्सल बस्ने निर्णय गर्दा सरकार चुपचाप बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
‘नेपाली जनता र संसदको अनुमति बिना नेपालको एक मात्र अन्तराष्ट्रिय हवाई अड्डा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयरमार्सल बस्ने स्वीकृति दिएको सम्झौता भएको जानकारी आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, हालसम्म प्रचण्ड सरकारले यसबारे जनतालाई कुनै जानकारी दिएको छैन, यो एउटा गम्भीर राष्ट्रघात र आत्मसर्पण हो ।’
यस अघि समेत भारतले नेपालको अन्तराष्ट्रिय हवाई अड्डालाई आफ्नो नियन्त्रण भित्र राख्नका निम्ति चाहेको तर नेपालले उक्त प्रस्तावलाई रोकेको भए पनि प्रचण्ड सरकारले स्वीकृति दिएर राष्ट्रघात गरेको उल्लेख गरेका छन् ।
‘भारतले २०६५ सालमा हिसिला यमी प्रर्यटन मन्त्री हुँदा पनि एयरमार्सलको प्रस्ताव पठाएको थियो, उक्त प्रस्तावलाई पार्टीको निर्णयमा रोकिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘आज प्रचण्ड प्रधानमन्त्री भएको बेलामा यो प्रस्ताव गरिनु र पास हुनु देशका लागि जनघात र राष्ट्रघात त हो नै साथसाथै लज्जास्पद र असैह्य विषय हो ।’
विप्लवले एउटा मात्र अन्तराष्ट्रिय विमानस्थलको संवेदनशीलताका विषयमा निर्णय गर्ने जिम्मेवारी सहसचिव स्तरका कर्मचारीलाई मात्र दिनु पनि नेपालको गल्ती भएको विप्लवको भनाइ छ । उनले विश्वमा राष्ट्रिय सुरक्षा तथा सार्वभौमिकताका दृष्टिले समेत हवाई अड्डा संवेदनशील भएको उल्लेख गरेका छन् ।
‘नेपाल एक सार्वभौमिक देश भएकाले नेपालका सबै क्षेत्रको बलियो सुरक्षा दिने जिम्मेवारी नेपाल राज्यको हो’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सुरक्षा शक्तिले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ, त्यो गर्न नेपालको सुरक्षा शक्ति सक्षम पनि छ तर यी सबै कुरा वेवास्था गर्दै एयरमार्सललाई सुरक्षाको जिम्मा लगाउनु नेपाली जनता र नेपाली सुरक्षा शक्तिको ठूलो अपमान पनि हो ।’ यो सम्झौता गर्दा नेपालको तर्फबाट पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलगायत सहभागी थिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment