Sunday, January 29, 2017

प्रहरी र दुस्मनलाई तर्साउन योजनाबद्ध हत्या : यसरी भयाे सनसनी खुलासा


काठमाडौं, १६ माघ । रामेछापको दोरम्बा घर भएका प्रज्वल पाठक शिक्षकका छोरा हुन् । पढाइमा सानैदेखि तीक्ष्ण । छोरो पछि गएर ठूलै मान्छे बन्छ भन्ने परिवारको सपना थियो । त्यही कारण परिवारले उनलाई गाउँको स्कुलबाट काभ्रेको बनेपास्थित विद्या सागर बोर्डिङ स्कुलमा भर्ना गरिदियो । बोर्डिङ स्कुलमा पाठकले राम्रै पढे । २०६३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।बाबुको सपना उनलाई डाक्टर बनाउने थियो । सोहीअनुसार बनेपाको जग्गा बेचेर भए पनि उनले काठमाडौंको कलेजमा छोरालाई आइएस्सी पढाउन थाले । पढाइ राम्रै भए पनि एमबिबिएसमा नाम निकाल्न नसकेपछि प्रज्वल बिएस्सी पढ्न थाले ।

पढाइमा तीक्ष्ण भए पनि उनी वेलावेला उद्दण्ड व्यवहार देखाउँथे । उनलाई आफूभन्दा जान्ने व्यक्ति कोही छैन भन्ने घमन्ड थियो । जसले आफ्नो कुराको प्रतिकार गर्छन् तिनीहरूलाई मारिदिनेसम्मको धम्की दिन्थे । उनलाई पढाउन भनेर बाबुले काठमाडौंमा दुःख गरेर बनाएको घरसमेत बेचेका थिए, तर उनी घमन्ड र गलत संगतले यसरी बिग्रँदै गए कि देशकै एक डरलाग्दा अपराधी बन्न पुगेका छन् । गत ९ मंसिरमा एक गाडीका मालिकलाई उनले गोली हानी घाइते बनाएपछि गाडीभित्रै जलाएर हत्या गरे । रामेछापको मझुवामा उनले झापाका विशाल खड्काको त्यसरी हत्या गरेका थिए ।


प्रहरी र दुस्मनलाई धम्क्याउन हत्या

हरेक अपराधको पछाडि कुनै कारण हुन्छ । धेरैजसो अपराधका पछाडि पैसा र प्रतिशोध प्रमुख कारण हुन्छन् । तर, टाटा सुमोका चालक खड्काको हत्यापछाडिको कारण फरक छ । उनले रामेछापको प्रहरी–प्रशासनलाई चुनौती दिन सो हत्याकाण्ड मच्चाएका थिए । ‘बालिका बलात्कारको मुद्दामा ऊ फरार थियो,’ रामेछापका प्रहरी प्रमुख डिएसपी कुमोध ढुंगेल भन्छन्, ‘आफूलाई प्रहरीले वान्टेड सूचीमा राखेर खोजी गरेपछि राज्य र आफ्ना दुस्मनलाई चुनौती दिनकै लागि यो हत्या गरेको अनुसन्धानमा देखिन्छ ।’ दुस्मनलाई धम्की दिनकै लागि उनले एक निर्दाेष व्यक्तिको ज्यान लिएका थिए । प्रहरीले हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ भने मास्टरमाइन्ड पाठक फरार छन् । प्रहरीले घटनाको डेढ महिनापछि मनकुमार लिम्बू र उनकी प्रेमिका बिन्दु तामाङलाई पक्राउ गरेको छ ।

जब खड्का भुमरीमा फसे
अभियुक्त मनकुमार लिम्बू

७ मंसिरमा चालक विशाल खड्काको टाटासुमोको झापा जाने पालो थियो । मे.१ ज २१८७ नम्बरको टाटा सुमोका मालिकसमेत रहेका खड्काले आफू नजाने भनी काउन्टरमा जानकारी गराए । किनकि, तीन दिनका लागि आकर्षक भाडामा उनको गाडी रिजर्भ गरिएको थियो । रसुवा जान भनेर एक व्यक्तिले फोनमार्फत गाडी बुक गरेका थिए ।

७ गते दिउँसो गाडी बुक गरेका युवाले उनलाई फोन गरे । दुई युवा रसुवा जान भनेर गाडीमा चढे । नागढुंगाको बाटो हुँदै उनीहरू रसुवातर्फ लागे । एक युवतीलाई बिहे गरेर ल्याउन गाडी रिजर्भ गरेर आएको उनीहरूले बताएका थिए । राति उनीहरू गाडीमै सुते । भोलिपल्ट बिहान करिब ११ बजे एक भर्खरकी किशोरी आइपुगिन् । तिनै किशोरीलाई लिएर उनीहरू नुवाकोटबाट गल्छीको बाटो हुँदै चितवनतर्फ गए । त्यहाँबाट बर्दिवास पुगे । युवतीलाई बिहे गरेर लिन गएका युवक मनकुमार लिम्बू झापामा बस्थे । तर, बर्दिवासबाट गाडी सिन्धुलीतर्फ मोडियो । गाडीमा रहेकी मनबहादुरकी प्रेमिका तामाङ पहिलोपटक त्यता गएकी थिइन् । उनलाई केही थाहा थिएन ।

बिहानको साढे तीन बजेको थियो । उनीहरू खुर्काेट पुगे । त्यहाँ मनबहादुर र उनका साथी प्रज्वल पाठकले चिया खाए । गाडी चालक खड्का र युवतीले चाउचाउ खाए । त्यहाँबाट उनीहरू रामेछापतर्फ लागे । रामेछापको निगालपानी मझुवा भन्ने ठाउँमा गएर गाडी रोकियो । बिहानको साढे चार भएको थियो । ‘तिमी गाडीमा पछाडि गएर सुत,’ पाठकले तामाङलाई भनिन् । युवतीले नमानेपछि उनलाई त्यही एकछिन पर्ख भन्दै उनलाई बाटैमा झारेर तीनजना गाडीमा अगाडि बढे ।

केही छिनमै प्रज्वल र मनबहादुर फर्किए । उनीहरू हिँड्दै फर्किएका थिए । गाडी पनि थिएन, चालक पनि थिएनन् । ‘उसलाई हामीले उतै पठाइदियौँ,’ चालक खोइ त भनेर सोधेको प्रश्नमा मनबहादुरले जवाफ दिए । ‘केही पड्केको आवाज आएको थियो नि,’ तामाङले फेरि सोधिन् । टायर पड्केको हो भनेर उनीहरूले टारे । त्यहाँबाट हिँड्दै उनीहरू दोरम्बा गए । दोरम्बामा प्रज्वल पाठकको घर थियो । उनी घरमा गएनन् । काकाको घरमा बसे । भोलिपल्ट तीनैजना बस चढेर काठमाडौं फर्किए । कोटेश्वरमा पुगेर छुट्टिए ।

९ गते बिहान रामेछाप सदरमुकाम मन्थलीमा र्‍यालीको कार्यक्रम थियो । प्रहरीको कन्ट्रोलमा मझुवामा एक गाडी जलिरहेको भन्दै फोन आयो । प्रहरीको स्थानीय टोली घटनास्थलतर्फ गयो । गाडीको पछाडिको सिटमा एउटा शव पनि भेटियो । गाडी नम्बर खुलेकाले त्यही आधारमा प्रहरीले अनुसन्धान गर्दा मृतक झापाका विशाल खड्का भएको खुल्यो । जिल्लाको एकान्तस्थलमा ल्याएर गाडीमा आगो लगाई उनलाई जलाइएको थियो । पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानमा आबद्ध प्रहरी झन् झस्कियो । आगो लगाएर नभई गोली हानेर टाटा सुमोका चालकको हत्या भएको थियो । मृतकलाई तीन राउन्ड गोली हानिएको थियो ।

अनुसन्धानमा डेढ महिना

अपराध अनुसन्धानमा दख्खल राख्ने रामेछापका डिएसपी कुमोध ढुंगेल आफैँ अनुसन्धानमा खटिए । झापा लखनपुर घर भएका चालक खड्काको आयस्रोत त्यही टाटासुमो थियो । त्यही गाडीको कमाइबाट उनले परिवार पाल्दै आएका थिए । जसरी योजनाबद्ध तरिकाले एकान्तस्थानमा ल्याएर गाडीमै जलाएर उनको हत्या भएको थियो, यसका पछाडि खड्कासँग कसैको ठूलै दुस्मनी रहेको प्रहरीको प्रारम्भिक आँकलन थियो । सोहीअनुसार उनीसँग झगडा भएका व्यक्तिलाई प्रहरीले खोजी गर्न थाल्यो।

तर, लामै अनुसन्धान गर्दा पनि त्यस्तो ठूलो दुस्मनी भएका व्यक्ति भेटिएनन् । जिल्ला प्रहरी कार्यालयसँग अनुसन्धानका लागि धेरै स्रोतसाधन पनि हुँदैन । घटना निकै योजनाबद्ध थियो । जसकारण अनुसन्धान लम्बिँदै गयो ।

प्रहरीले प्राविधिक अनुसन्धान पनि अघि बढाइरहेको थियो । त्यो गाडी कसरी रामेछापसम्म पुग्यो भन्नेतर्फ प्रहरीले खोजी सुरु गर्‍यो । जसमा केही शंकास्पद व्यक्तिमाथि अनुसन्धान अघि बढायो । सोही क्रममा प्रहरी झापाका मनबहादुर लिम्बूसम्म पुग्न सफल भयो । डिएसपी ढुंगेल आफैँ झापा पुगेर लिम्बूलाई पक्राउ गरे । उनले आफ्नो नाम रञ्जन लिम्बू भएको बताए । घटनामा संलग्नताबारे आफूलाई केही थाहा नभएको बताए । कार्यालयमा ल्याएर थप सोधपुछ गर्दा घटनाका सबै कहानी सुनाए ।

लिम्बूले बताएअनुसार चालकलाई हत्या गर्नेबारे पहिले नै उनीहरूबीच छलफल भएको थियो । पहिला माओवादीले युद्ध सुरु गरेजस्तै गरी मान्छे मारेर आतंक मच्चाउने र पैसा उठाउने योजना पाठकले लिम्बूलाई सुनाएका थिए । त्यसैका लागि कुनै व्यक्तिलाई गोली हानेर मार्ने र त्यहाँ पर्चा फालेर आफ्नो संगठनबारे आतंक मच्चाउने उनीहरूको योजना थियो । पूर्वमाओवादी लडाकु रहेका लिम्बू पनि त्यसमा तयार भए । बेरोजगार रहेकाले उनी आतंक मच्चाएर पैसा कमाउन उक्त योजनामा सहभागी भए ।

सोहीअनुसार चालक खड्कालाई रामेछापको एकान्तस्थलमा पुर्‍याई हत्या गरिएको थियो । मझुवाको निगालपानीमा पुगेपछि पाठकले गाडी रोक्न चालकलाई आग्रह गरे । गाडी रोकेपछि चालक मोबाइलमा फेसबुक चलाउन थाले । त्यही वेला पाठकले उनलाई गाडीको पछाडि सिटमा बस्न आग्रह गरे, तर नमानेपछि पेस्तोलले तीन राउन्ड गोली हानेको बयान लिम्बूले दिएका छन् । पछि घिसारेर गाडीको पछाडि राखी आगो लगाएर त्यहाँबाट दोरम्बा गएका थिए । मानकुमारकी प्रेमिका बिन्दुलाई पनि केही थाहा भए पनि लुकाउने प्रयास गरेकाले घटनाको मिलेमतोको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकबाटै दोस्ती

डिएसपी ढुंगेलका अनुसार लिम्बू र पाठकबीच फेसबुकमै चिनजान भएको हो । दुवै जना माओवादीमा आबद्ध भएकाले नजिकिएका हुन् । तेह्रथुम घर भएका मानकुमार पूर्वलडाकु हुन् । पाठक पनि माओवादीमा आबद्ध हुन् । फेसबुकमा चिनजान भएपछि काठमाडौं आएका वेला उनीहरूबीच भेटघाट भएको थियो । त्यही क्रममा उनीहरूले उक्त हत्याको योजना बनाएका थिए । यद्यपि, त्यसका पछाडि पाठकको प्रहरी र आफ्ना दुस्मनलाई चुनौती दिने योजनासमेत थियो । घटनामा प्रयोग भएको पेस्तोल लिम्बूले नै व्यवस्था गरेको प्रहरी आशंका छ । तर, उनले सो कुरा बयानमा अस्वीकार गरेका छन् ।

डिएसपीको प्रशंसा
यति गम्भीर अपराधको जिल्लाबाटै सफल अनुसन्धान गर्न सफल भएको भन्दै मध्यक्षेत्रीय प्रहरी कार्यालयका डिआइजी पशुपति उपाध्यायले रामेछापका डिएसपी कुमोध ढुंगेलको प्रंशसा गरेका छन् । गत सोमबार जिल्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा पुगेका डिआइजी उपाध्यायले जिल्लाको शान्तिसुरक्षालाई बलियो बनाउन र गम्भीर अपराधको सफल अनुसन्धान गरेको भन्दै सार्वजनिक कार्यक्रममै डिएसपी ढुंगेलको प्रशंसा गरेका हुन् । जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको अन्तक्र्रियामा सहभागी अन्य व्यक्तिले पनि ढुंगेलले जिल्लाको कमान्ड सम्हालेपछि शान्तिसुरक्षाको अवस्था राम्रो भएको बताएका थिए ।

चोरबाट आपराधिक यात्रा
प्रज्वल पाठक ( फरार अभियुक्त )

दुई वर्षअघि मोटरसाइकल चोरीबाट पाठकको आपराधिक यात्रा सुरु भएको हो । काठमाडौंमा आफू बसेको घरबेटीकै मोटरसाइकल चोरेर उनी गाउँ गएका थिए । जुन घटनामा मोटरसाइकल फिर्ता गरेर मिलापत्र गरियो ।

पछि छोरा बिग्रिएको भन्दै घरबाट खर्च कम गरेपछि उनले घरकै ल्यापटप नै चोरी गरी बेचेका थिए । त्यही क्रममा गत वर्ष उनले आफू प्रहरीको घुमुवा असइ भएको भन्दै केही व्यक्तिलाई धम्क्याएर पैसा असुले । गत वर्ष नाकाबन्दीको समयमा कालोबजारी गरेको भन्दै पेट्रोल पम्प र ग्यास पसलका सञ्चालकहरूलाई धम्क्याएका थिए । पक्राउ परेपछि प्रहरीमा उनले आफ्नो नाम रक्तिम पाठक भनेर ढाँटेका थिए । सातदोबाटो प्रहरी वृत्तले उनलाई मुद्दा चलाएकोमा उनी सामान्य धरौटीमा छुटे।

बिएस्सी पढेपछि पनि कुनै जागिरमा नलागेकाले उनलाई बुबाले सिटिइभिटीको प्राविधिक कोर्स पढाउने निर्णय गरेर फेरि काठमाडौं पठाए । तर, त्यसमा पनि उनले इच्छा देखाएनन् । त्यसपछि उनलाई विदेश पठाउने परिवारको तयारी थियो । गत वर्ष चैतमा उनी गाउँ गएका थिए । खोलामा नुहाउन जाँदा गाउँकै १२ वर्षीया बच्चीलाई बलात्कार गरेको आरोप उनीमाथि लाग्यो । तर, उनले आरोप अस्वीकार गरे । त्यो घटनाले गाउँमा ठुलै हंगामा भयो । विवाद बढ्दै गएपछि घटना जिल्ला प्रहरी कार्यालयसम्म पुग्यो । तत्कालीन डिएसपी मोहन परियारले जाहेरी ढिलो आएको भन्दै दर्ता गर्न मानेनन् । पछि, गम्भीर घटनालाई प्रहरीले बेवास्ता गरेको भनेर आलोचना भएपछि प्रहरीले जाहेरी दर्ता गर्‍यो । लगत्तै पाठक फरार भए ।

घटनामा आफूलाई जबर्जस्ती फसाइएको पाठकको दाबी थियो । आफूलाई फसाउने कसैलाई नछाड्ने धम्कीसमेत उनले दिएको दोरम्बाका स्थानीय बताउँछन् । गाउँमा बाटो खन्ने विषयमा पाठक परिवारको स्थानीयसँग विवाद भएको थियो । सोही विवादपछि पुरानो घटनामा उनीविरुद्ध जाहेरी दर्ता भएको उनको बुझाइ थियो । आफूविरुद्ध सबै लागेकाले त्यसको प्रतिशोधका रूपमा उनले अप्रत्यक्ष रूपले धम्क्याउनलाई गाउँनजिकै लगेर टाटासुमोका चालकको हत्या गरेको हुन सक्ने आशंका पनि गरिएको छ । तीक्ष्ण दिमागको दुरुपयोग हुँदा उनी डरलाग्दा अपराधी बनेको प्रहरी अधिकारी बताउँछन् । फरार रहेकै वेला उनले अर्काे अपराध गर्न सक्ने प्रहरीको चिन्ता छ ।

फेसबुके प्रेमले युवतीको जेलयात्रा

रसुवा घर भएकी १७ वर्षीया बिन्दु तामाङ ९ कक्षामा अध्ययनरत थिइन् । उनलाई फेसबुकको लत बसिसकेको थियो । फेसबुकमै उनको करिब ६ महिनाअघि झापाका अञ्जन लिम्बूसँग चिनजान भयो । म्यासेन्जरमा च्याट हुँदाहुँदै उनीहरू फोनमा पनि नियमित कुरा गर्न थाले । अञ्जनले आफू अविवाहित रहेको र बिहे गर्न चाहेको बताए । युवतीले पनि उनलाई मन पराउन थालेकी थिइन् ।

त्यही क्रममा अञ्जनले बिन्दुलाई भगाउन गाडी नै लिएर आउने बताए । प्रेमी गाडी लिएरै लिन आएपछि तामाङले पनि आफ्नो मनलाई बाँध्न सकिनन् । गत ८ मंसिरमा विद्यालयमा पहिलो कक्षा लिएपछि उनले ‘बंक’ हानिन् । पढाइभन्दा उनका लागि प्रेम ठूलो भयो ।

त्यही प्रेमले उनी यतिवेला प्रहरी हिरासतमा पुगेकी छिन् । रञ्जन लिम्बू भनिने मानकुमार लिम्बूसँगको ‘फेसबुके’ प्रेमका कारण उनीमाथि ज्यान मुुद्दा लागेको छ । फेसबुकमा मानकुमारको नाम रञ्जन थियो ।  प्रहरीका अनुसार लिम्बू र तामाङबीच ८ मंसिरमा पहिलोपटक भेट भएको थियो । झापाको दमकमा डेरा लिएर बसिरहेको वेला उनीहरू पक्राउ परेका हुन् ।

लिम्बूले बिन्दुसँग प्रेम गर्नुअघि दुई श्रीमतीलाई छाडिसकेका थिए । पछिल्लो समय फेसबुकमार्फत युवतीहरूस“ग चिनजान गर्ने र प्रेम प्रस्ताव राख्न थालेका थिए । उनका धेरै फेसबुके प्रेमिकामध्ये बिन्दु एक थिइन् । विष्णु तामाङ, पिएल, रञ्जन लिम्बूलगायत सातवटा नाममा उनले फेसबुक चलाउँदै आएका थिए ।

अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार बिन्दुलाई समेत त्यो दिन उनीहरूले मार्ने योजना बनाएकोजस्तो देखिन्छ । चालक खड्कालाई मार्नुअघि उनीहरूले बिन्दुलाई पनि गाडीको पछाडि सुत्न लगाएका थिए । तर, उनले नमानेपछि गाडीबाट झारेर खड्कालाई केही पर लगी हत्या गरिएको थियो । दुईजनालाई हत्या गर्दा घटना थप सनसनीपूर्ण हुने भएकाले बिन्दुलाई पनि मार्न खोजिएको हुन सक्ने प्रहरी आशंका छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment