Monday, January 30, 2017

यमबुद्धको आत्महत्याको कारण के थियो ?

लोकप्रिय र्‍याप गायक यमबुद्ध (अनिल अधिकारी) ले आत्महत्या गरेपछि उनका लाखौं प्रशंसक मर्माहत छन् । अधिकांश प्रशंसकले उनलाई श्रद्धाञ्जली दिने क्रम रोकिएको छैन । आफ्नो ससुराली घरको बाथरुममा बेल्टको पासो लगाई आत्महत्या गरेका यमबुद्धको पोस्टमार्टम रिपोर्टमा समेत उनले ड्रग्स सेवन गरेको नभै केही वाइन सेवन गरेर आत्महत्या गरेको देखिएको बताइएको छ । यसबीच फेसबुकमा चाई येन येन आइडी भएकी एक युवतीले यमबुद्धको निधनका बारेमा एउटा स्ट्याटस सेयर गरेकी छिन्।
यमबुद्ध किन मरे ? ११ लाखभन्दा बढी फ्यान तथा फलोअर । लाखौं युवाका धड्कन । जता गयो उतै हाई –हाई । २९ वर्षको कलिलो उमेर । नेपालमा र्‍याप ब्याटलका जन्मदाता । उनीभन्दा पहिले धेरै युवा र्‍याप हान्न आए, ट्याब खाए अनि कता गए कसैलाई थाहा भएन यद्यपि यमबुद्ध आफ्नो कर्ममा टिकिरहे । आखिर उनको पनि त्यही अवस्था आयो जुन अवस्था हरेक नेपाली कलाकारको आउँछ । रित्तो खल्तीमा कतिन्जेल र्‍याप हान्न सक्नु ? न राज्यको कुनै सहयोग, न त परिवारको । यमबुद्ध डिपेन्डेन्ट भिसामा बेलायत पुगे, ससुराली घर लन्डन भएकाले सुरुका दिन उनलाई खान बस्न कुनै समस्या भएन तर घरज्वाइँ भएर कति दिन बस्नु ? जिन्दगीभर सिकेको एउटै काम र्‍याप हान्नु...। नेपालमा चर्चित गायक, तर लन्डनमा उनलाई कसले गन्ने ? गायक होस् अथवा नायक । काम नगरेको दिन खानसम्म पाइँदैन । २–३ महिना एक रेस्टुराँमा काम गरेपछि उनले युके रोयल मेलमा हुलाकीको काम पाए । काम कस्तो भने बिहान ८–१२ बजेसम्म घर–घर चिठ्ठी पुर्‍याउन जानुपर्ने । सोचेजस्तो भएन विदेश । कहाँ नेपालको त्यत्रो सम्मान, इज्जत, प्रतिष्ठा कहाँ लन्डनको हुलाकीको जागिर । हुन त काम ठूलो–सानो केही हुँदैन तर भोग्नेलाई थाहा हुन्छ अचानोको पीडा । उनी सुरुदेखि नै आफ्नो लन्डन बसाइबाट खुसी थिएनन् । एउटा सिर्जनशील मानिसलाई थुनेर हुलाकी बनाउँदा डिप्रेसन त हुने नै भयो । बेला–बेला उनी आफ्नो पीडा साथीहरूसँग पोख्थे । परिवारसँग पनि उनी नेपाल गएर संगीत सिर्जनामा लाग्ने सल्लाह हुँदै थियो तर परिवारको एउटा प्रश्नले उनलाई विचलित बनाउँदै थियो, ‘के र्‍याप हानेर परिवारको पेट पाल्न सकिन्छ ?’ यमबुद्धसँग यो प्रश्नको उत्तर थिएन । उनी मन नलागी–नलागी हुलाकीको काम गर्दै थिए । एक दिन त प्लम्स्टिड भन्ने ठाउँमा चिठी पुर्‍याउन जाँदा एक नेपाली युवतीले ढोका खोलिछन् । आफ्नो ढोका अगाडि यमबुद्धलाई देखेर छक्क पर्दै उनले भनिछन्— ‘आम्मै यम दा हैन ? ह्वाट अ सप्राइज, कसरी यहाँ ? त्यसपछि भएभरका साथीलाई बोलाएर फोटो खिचिछन् । रोयल मेलको रातो डेलिभरी युनिफार्म लगाएको उनको उक्त तस्बिरभाइरल भएछ । यम सकेसम्म आफ्नो कामको तस्बिर पब्लिक नहोस् भन्ने चाहन्थे, तर त्यो तस्बिर धेरैदिन लुकेन । धेरैले यमले नेपाल छोडेर विदेशमा नसुहाउने काम गरेको भन्दै आलोचना गरे । मानिस हो, अरूको कुराले मन बिझिहाल्छ । कति पटक चिठी दिन जाँदा सम्बन्धित व्यक्तिले टिप्स दिएको कुरा पनि लेखेका छन् उनले । यो कुराले पनि उनलाई नमज्जा लागेको होला । यो कस्तो समाज हो, कुनै नौलो सिर्जनामा लाग्यो भने कुरा काटेर अघि बढ्नै नदिने ? सफलतामा पुग्यो भने कसरी हुन्छ त्यहाँबाट झार्न खोज्ने । न कलाको सम्मान छ, न सर्जकको । कुनै केटाले र्‍याप गायो भने त्यो बिग्रिएको ट्यापे हुन्छ भन्ने जरुरी छ ? मैले यही समाजमा उनलाई ट्यापे भनेको पनि सुनेकी छु । अहिले उनको पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ, जहाँ उनले कुनै ड्रग खाएको पुष्टि हुन सकेको छैन । यो विरक्तलाग्दो समाजमा यमबुद्ध जस्ता निष्ठावान सर्जकले किन बाँच्नु, कति दिन आफूलाई गल्ली–गल्लीमा ठोकर ख्वाउँदै हिड्नु ? (चाइ येन येन नामको फेसबुकवालबाट, चाइले पनि यो सामग्री अन्यत्रैबाट साभार गरिएको उल्लेख गरेकी छिन् ।) आस्था राउत साथीको सम्झनामा पत्याउनै सक्दिनँ साथी, छाडेर गयौ खै कहाँ धेरै–धेरै माथी.. सोच्थेँ तिमी जुझारु छौं, शब्दको वाण हान्न सफल योद्धा हौ ! तिम्रा मनका भावहरू शब्दमा आउँथे आक्रामक बुलन्द आवाज बनि छाउँथे गाउँ बस्ती सहर, तराई, पहाड, हिमाल सबैले गाउँथे युवाहरूले त झन आफ्नै सोच ठान्थें ! तर यार साथी तिमी कहाँ पुग्यौं ? जानु थियो कहाँ.. पुग्यौ कहाँ ? हुनु थियो के.. भयो के ! आज सबैलाई रुवाएर गयौं ! नहार भन्नेले नै हारेर गयौं ! अब जहाँ छौ, सायद तिम्रो नजरमा खुसी छौं ! हामी जहाँ छौं, हामी तिमीलाई सम्झेर दुखी छौँ ! तिम्रो आत्माको चिर शान्तिको कामना छोटो मिठो सम्झना ! (लोकप्रिय गायिका आस्था राउतले आफ्नो फेसबुक वालमा पोस्ट गरेको कविता)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment